Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


२०७२ सालमै उद्घाटन भएको बिपी राजमार्ग पुनः उद्घाटन गरिँदै


13
Shares

काठमाडौं । १८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् । एकपटक उद्घाटन गरिसकिएको सडक केही स्थानमा मर्मत तथा पुनर्निर्माण गर्दैमा फेरि उद्घाटन गर्नु हास्यास्पद रहेको पूर्वाधार क्षेत्रकै जानकारहरूको भनाइ छ । 

मन्त्रालय स्रोतका अनुसार मन्त्री नेम्वाङले भौतिक रुपमा भव्य कार्यक्रम गरेर नै सडक पुनर्निर्माणको उद्घाटन गर्ने कार्यक्रम बनाएका थिए ।

तर, सडक निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने निकाय जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोरोना महामारीका कारण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम नहुने अडान लिएपछि अनलाइन प्रविधिको प्रयोग गरेर उद्घाटन गर्न लागिएको हो ।

‘सडक मर्मतको काम उद्घाटन गर्नुपर्ने नै थिएन तर केन्द्रीय सरकारको मन्त्रीले नै उद्घाटन गर्ने भनेपछि जाइकाजस्तो संस्थाले प्रतिष्ठाकै लागि पनि खुसीसाथ कार्यक्रम गर्दैै छ,’ मन्त्रालय स्रोतले बतायो । 

जापान सरकारले ०७२ असार १२ को भूकम्पपछि नै सडक नेपाललाई हस्तान्तरण गरेको थियो । तर, कुल १ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा भूकम्पका कारण विभिन्न ठाउँमा जोखिमयुक्त बनाएको थियो । त्यस्ता, जोखिमयुक्त २५ स्थानको पुनर्निर्माण कार्य हालै सकिएको छ । उच्च संवेदनशील रहेका पाँच ठाँउमा पुनर्निर्माणको जिम्मा लिएको जाइकाले २६ पुसमा निर्माण सम्पन्न गरेको बिपी राजमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए । ‘संवेदनशील र अन्य गरेर बाँकी २० ठाउँमा भने नेपाल सरकारले पुनर्निर्माण तथा मर्मत गरिसकिएको छ’ उनले भने । नयाँ पत्रिका