Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जेलबाटै आलमको आतंक : बम विस्फोटका साक्षीले सुरक्षा पाएनन्, बयान फेर्न बाध्य


0
Shares

काठमाडौं । रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै छ । आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् । 

आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए । 

पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए । फरहदवा (अहिलेको राजपुर–२) स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो । 

बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए । उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पुर्‍याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । ‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ ।

सोही घटनामा बमका छर्रा लागेर सफी अहमद पनि घाइते भएका थिए । तर, उनी उपचार पाएर बाँच्न सफल भए । किनभने उनी आलमका टाढाका आफन्त पनि हुन् । त्यतिवेला उनी आलमकै लागि काम गर्थे । खुट्टा, पेट र छातीमा छर्रा लागेर गम्भीर घाइते भएका सफीलाई आलमकै सहयोगमा तत्काल भारतको पटनास्थित अस्पताल पु¥याएर उपचार गरिएको थियो ।

यता आलम भने चुनाव जितेर ०६७ मा मन्त्री नै भए । ०७४ को निर्वाचनमा फेरि निर्वाचित भएका थिए । फौजदारी अभियोग लागेपछि मात्रै उनी निलम्बित भएका थिए । आतंक र प्रलोभनका भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । गत वर्ष मात्रै उनी पक्राउ परे ।

आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे । उनले आलमविरुद्ध जाहेरी दिए । जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए । उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, जेलभित्रैबाट पनि उनले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन् । 

जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन् । बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन् । 

‘२७ चैत ०६४ (विस्फोट हुँदा)मा म भारतको पन्जाबमा काम गर्न गएको थिएँ । त्यहाँ रहँदा मैले खेती किसानको काम गर्थेँ । मैले गाई, भैँसीलाई भुसा र घाँस खुवाउने काम पनि गर्थेँ,’ सफी अहमदले गरेको बकपत्रमा उल्लेख छ । खुट्टामा भएको खाटालाई भने उनले कोदालो चलाउँदा लागेको चोटको दाग बताएका छन् । मुख्य अभियुक्त अफताब आलम, उनका भाइ महताबलगायतलाई नचिनेको बयान उनले दिएका छन् । सफीको जिल्ला अदालतमा तीन दिनसम्म बयान चलेको थियो । 

जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २७ चैत ०६४ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए । अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका छन् । उनले भनेका छन्, ‘घर आएको वेला मलाई प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगेर गए । त्यहाँ थुनामा राखे, कुटपिट गरे । उनीहरूले नै झुटा कागजात बनाए । मलाई जबर्जस्ती गरेर सोही कागजातमा हस्ताक्षर गर्न लगाए । त्यसैले मैले दिएको जाहेरी सही होइन ।’नयाँ पत्रिका