
नारायणी लामिछाने/उत्तम मानन्धर (इमेज)
काठमाडौं, साउन ६ । पछिल्लो समय समाज अनेकखाले अराजकतातर्फ तानिँदै गएको छ ।
समाजमा एक–अर्काले भनेको नमान्ने र विरोधमा उत्रने कार्य पहिलेदेखि नै हुने गर्दथ्यो भने पछिल्लो समयमा झनै बढेको छ ।
एकातिर कानुन परिपालनमा हुन नसक्ने त अर्काेतिर मानिसहरु अर्काको विरोधमा रमाउने भएपछि समाजमा अराजकता बढेको समाजशास्त्रीहरुको भनाइ छ ।
एकले अर्कालाई होच्याउने र कसैको विरोध गर्दा रमाउने सोच हावी भएको छ, समाजमा ।
कसैको धारणाको विपरीत जानु, कानुनको पालना नगर्नु मानिसलाई नियमजस्तै लाग्न थालेको छ ।
राजनीतिक होस् वा सामाजिक सबै क्षेत्रमा मानिसमा आफ्नो पकड जमाउने र हैकम जमाउने प्रवृत्ति बढेको छ । यही हैकमवादले समाजमा द्वन्द्व पनि सिर्जना गराइरहेको छ ।
लोकतान्त्रिक राज्य व्यवस्था भनिएपनि मुलुक दलीयतन्त्रमा फसेको छ । राज्यका संरचनाहरु पार्टीकरण गरिएका छन् । राज्य संयन्त्रमा हैकम चलाउनेले यसलाई आफ्नै पेवा ठान्ने प्रवृत्ति सामान्य देखिँदैछ ।
विधि र कानुन जसले उल्लंघन गर्यो, ऊ ठूलो भन्ने पार्न खोजिँदैछ । आफ्नो कर्तव्य पूरा गर्नेभन्दा अधिकारकै पछि कुद्ने लहरले पनि महत्वकांक्षा थपेको समाजशास्त्रीहरुको भनाइ छ ।
क्षमताभन्दा ठूला चाहना बोकेर लोकप्रियताको सिँढी चढ्न खोज्दा समस्या देखिएको समाजशास्त्री तुलसीराम पाण्डे बताउँछन् ।
राजनीतिले समाजवादको सपना त फ्याँक्यो । तर, त्यो सपना बाँड्नेको जीवनशैली चरम उपभोक्तावादी हुँदा सन्तुलन देखिएन । जसले ‘डुंगा कोल्टनु स्वाभाविक’ भएको उनको भनाइ छ ।
मुलुकमा औद्योगीक क्षेत्रमा लगानी नहुँदा रोजगारी सिर्जना भएन । जसले बेरोजगार भीडले सकारात्मकताको बाटो अवलम्बन गर्नै सकेन ।
पूरा गर्नै नसक्ने वा गर्न पनि ठूलो त्याग र मिहिनेत चाहिने सस्ता सपना वितरण गर्दै आउने तर त्यसका लागि आवश्यकीय उत्पादकत्व बढाउनेतर्फ बिल्कुल नसोच्दा समाजमा निराशा बढेको विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्