
प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज)
काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरेर आएको १० दिनपछि बिहीबार फेरि उपचारका लागि सिंगापुर गएका छन् ।
प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या बढेपछि प्रधानमन्त्री उपचारमा संलग्न चिकित्सकहरुको टोलीसहित सिंगापुर गएका हुन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर प्रधानमन्त्री ओली नेपाल फर्किएका थिए ।
तर, १० दिन बित्दा नबित्दै उनी फेरि सिंगापुर नै जानुपर्ने अवस्था आएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न आशंका उब्जिएका छन् ।
१२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएकाले प्रधानमन्त्री ओली गत साउनमा सिंगापुर गएका थिए ।
शरीरमा क्रेटिनिनको मात्रा बढेका कारण मिर्गौलामा समस्या देखिन थालेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले बताए ।
प्रधानमन्त्री ओलीको शरीरमा एन्टीबडी तत्व बढेको र त्यसलाई कम गराउन उपचारका लागि प्रधानमन्त्री सिंगापुर गएको डा. शर्माले जानकारी दिए ।
यस्तै, मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लले शरीरमा एन्टीबडी र क्रेटिनिनको मात्रा बढ्दै गयो भने त्यसले मिर्गौलालाई प्रतिकूल असर पार्ने बताउँछन् ।
क्रेटिनिनको मात्रालाई सामान्य अवस्थामा ल्याउन सकियो भने प्रधानमन्त्रीको स्वास्थ्यमा अझै केही वर्ष समस्या नआउने भन्दै त्यसका लागि ६ पटकसम्म प्लाज्माफेरेसिस गराउनुपर्ने बताए ।
प्लाज्माफेरेसिसबाट पनि एन्टीबडी तत्व कम हुन सकेन भने फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने उनले बताए ।
यस्तै, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मेडिकल बोर्डसँग छलफल नै नगरी प्रधानमन्त्री उपचारका लागि बाहिर जानु गलत भएको बताए ।
स्वदेशमै उपचार हुनसक्ने रोगका लागि पनि निजी चिकित्सकहरुकोमात्र सल्लाहमा विदेश जानु गलत भएको डा. श्रेष्ठको भनाइ थियो ।
तर, प्रधानमन्त्रीका निजी चिकित्सकहरुले भने सिंगापुरकोजस्तो मेडिकल सुविधा नेपालमा नरहेकाले प्रधानमन्त्री ओेली विदेश जानुपरेको बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्