सरोज अधिकारी (इमेज)
काठमाडौं, भदौ ५ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार स्वदेश फर्किएका छन् ।
पूर्वनिर्धारित् कार्यक्रममा भाग लिन आएको भएपनि उनले सक्रियरुपमा राजनीतिक भेटघाटसमेत गरेका छन् ।
काठमाडौंमा भएको नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकले केही महत्वपूर्ण सम्झौताहरु गरेको छ ।
सबैभन्दा महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता पुनरावलोकन गर्न दुवै देश सहमत भएका छन् ।
यसैगरी, एक देशमा गरिएको गुणस्तर जाँच दुवै देशका लागि मान्य हुने विषयमा पनि सहमति कायम भएको छ ।
यसअघि, ‘क्वारेन्टाइन चेक’को विषयलाई लिएर भारतले सदैव आपत्ति जनाउँदा नेपालका फलफूल, तरकारीहरु भन्सारमा रोकिँदै आएका थिए ।
यसैगरी, केही समयअघि तरकारीमा विषादीको विषयलाई लिएर भारतीय तरकारी नेपालले रोकेपछि निकै ठूलो विवाद भएको थियो ।
यो सम्झौतापछि अब नेपालको गुणस्तर जाँचलाई भारतले मान्यता दिने र भारतीय गुणस्तर जाँचलाई नेपालले मान्यता दिनेछ ।
भारतबाट नेपालले तरकारी र खाद्यान्नको ठूलो हिस्सा आयात गर्ने भएकाले यसले नेपाललाईभन्दा भारतलाई निकै फाइदा पुग्नेछ ।
विदेशमन्त्रीको भ्रमणकाक्रममा भारतले यसअघि प्रतिबद्धता गरेका केही आर्थिक सहयोग पनि नेपाललाई हस्तान्तरण गरेको छ ।
भूकम्पपछिको पुनःनिमार्ण र हुलाकीमार्ग निर्माणका लागि कुल साढे तीन अर्बको हाराहारीमा सहयोग भारतले नेपाललाई गरेको छ ।
दुई/दुई वर्षमा हुने यो संयुक्त आयोग बैठकका लागि आएका भारतीय विदेशमन्त्री जयशंकरले बैठककोभन्दा धेरै समय राजनीतिक भेटघाटमा खर्चिए ।
काठमाडौं ओर्लिएपछि उनले सबैभन्दापहिला बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरे ।
यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवनमै भेट गरेका जयशंकरले अन्य दलका नेताहरुलाई भने होटल द्वारिकाज्मा भेट गरे ।
उनीसँग भेटवार्ता गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत पुगेका थिए ।
दुईपक्षीय औपचारिक तथा अनौपचारिक भेटवार्तामा नेपालले सदाझैं बाढी रोकथाम र बाँधहरु तथा सीमाको कुरा उठाएको थियो भने भारतीयपक्षले सुरक्षा चासो र नदी जडानको विषय उठाएको थियो ।
भारतमा विदेशसचिव रहँदा नेपालमा संविधान निर्माणताका आएका जयशंकरले केही समय संविधान निर्माण प्रक्रियालाई रोक्न आग्रहसहितको सन्देश ल्याएका थिए । तर, नेपालले मानेन । फलतः नेपालले नाकाबन्दी व्यहोर्नुपरेको थियो ।
त्यही कारण छवि धुमिल भएका जयशंकर विदेशमन्त्रीकारुपमा नेपाल आउँदा राजनीतिक नेताहरुसँग राजनीतिकभन्दा पनि बढी प्राविधिक कुरा गरेको स्रोत बताउँछ ।
बिहीबार बिहानै पशुपतिनाथको दर्शन गरी भेटवार्ता सुरु गरेका जयशंकरले नेपाल भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्