२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गैरसांसदको रूपमा मन्त्री भएका नेताहरू शाही मन्त्रीकै शैलीमा गाउँगाउँमा स्वागत ग्रहण गर्दै


0
Shares

काठमाडौं । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठन गरेको सरकारका ‘शाही मन्त्री’हरू स्वागत थाप्न र राजाको कमदको पक्षमा जनमत बनाउन देश दौडाहामा निस्केका थिए । उस्तै, झल्को दिनेगरी अहिले काम चलाउ सरकारका मन्त्रीहरू पनि देश दौडाहामा निस्केका छन् । 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ भने केही नयाँ मन्त्रीहरू नियुक्त भएका छन् । कतिपय विघटित संसद्का सदस्य पनि छैनन् । उनीहरू अहिले देश दौडाहामा निस्केर शाहीमन्त्रीहरूजस्तै जिल्ला–जिल्लामा स्वागत थापिरहेका छन् । सँग–सँगै प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमको बचाउ गर्दै भाषणा दिइरहेका छन् । 

खेलकुदमन्त्री तामाङलाई गृहजिल्लामा फूलमालासँगै कालो झन्डा

सिन्धुपाल्चोक २ ‘ख’ बाट प्रदेश सभाको चुनाव हारेका दावा तामाङ काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले पनि शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा फूलमाला र खादाले स्वागत पाएका छन् । 

पहिलो संविधानसभा निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेर चर्चामा आएका तामाङ प्रदेशमा चुनाव हार्दा पनि संघीय सरकारको मन्त्री बन्न सफल भएपछि फेरि चर्चामा आएका छन् । तर, त्यतिवेला भने स्थानीय बासिन्दा नै उनको विरोधमा थिए । नेकपाका धेरैजसो नेता कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा भएकाले उनको विरोध भइरहेको छ । 

केही नेता र कार्यकर्ताको स्वागत थापे पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लिएर गृहजिल्ला पुगेका तामाङलाई युवा संघ र अनेरास्ववियुले कालो झन्डा देखाएर विरोध जनायो ।

महतोलाई श्रीमान् र कार्यकर्ताले लगाए १०१ किलोको माला

महिला, बालबालिका तथा ज्येष्ट नागरिकमन्त्री जुलीकुमारी महतो केही दिनदेखि गृहजिल्ला धनुषामा छिन् । २१ पुसमा जनकपुर आएकी मन्त्री महतोकाे स्वागतमा उनका श्रीमान् रघुवीर महासेठसहित कार्यकर्ताहरू जनकपुर विमानस्थल पुगेका थिए । 

विमानस्थलमै एक सय एक किलोको फूलको मालाकाे स्वागत पाएर महताे दंग थिइन् । त्यसपछि उनी ओली समूहले जनकपुरस्थित प्रादेशिक कार्यालयमा आयोजना गरेको बृहत् जिल्ला कार्यकर्ता भेलामा सहभागी भइन् । 

सहरी विकासमन्त्री साहलाई गृहजिल्ला रौतहटमा स्वागत

सहरी विकासमन्त्री भएपछि गृहजिल्ला पुगेका प्रभु साहलाई फूलमालाले स्वागत गरिएको छ । केही दिनयता जिल्लाका विभिन्न कार्यक्रममा सह भागी भइरहेका उनी स्वागत थाप्नमै व्यस्त छन् । 

जिल्लामा आयोजित कार्यक्रममा स्वागत थाप्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरिरहेका मन्त्री साह प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आइरहेका छन् । रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले निर्वाचनमा जाँदा पराजित हुने डरले प्रचण्ड–नेपाल समूहले आन्दोलन गरिरहेको दाबी गरे ।

ऊर्जामन्त्री रायमाझीलाई गाउँ–गाउँमा स्वागत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन । 

नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल ¥याली निकालिएको थियो । उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ ।

वनमन्त्री आलेलाई विमानस्थलबाटै फूलमाला

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलोपटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे । धनगढी विमानमा उत्रेर सँगै आफ्ना समर्थकबाट फूलमालाले स्वागत पाएका मन्त्री आले गृहजिल्ला प्रस्थान गर्दा कैलालीबाटै केही समर्थक र कार्यकर्ता पनि लिएर गए ।

सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो । तीमध्ये आधा दर्जनभन्दा बढी गाडी दिपायल–सिलगढीभन्दा बाहिरबाट उनका समर्थक र कार्यकर्ता लिएर आएका थिए ।

श्रममन्त्री चौधरीलाई आफ्नै निर्वाचन क्षेत्रमा फूलमालासँगै कालो झन्डा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृहजिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् । 

बुधबारबार भने उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो ।

खानेपानीमन्त्री थापालाई फूलमालासँगै कालो झन्डा

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा पनि जाजरकोट पुगेका छन् । उनलाई पनि कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका छन् भने विपक्षीहरूले कालो झन्डा देखाएका छन् । नयाँ पत्रिका