१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पहाडी जिल्ला पाँचथरमा पनि डेंगीको संक्रमण


0
Shares

फिदिम, भदौ ५ । पहाडी जिल्ला पाँचथरमा डेंगीको संक्रमण बढ्दै गएको छ ।

पाँचथरमा अहिलेसम्म २० जना डेंगीको बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तेजबहादुर तुम्बापोका अनुसार उनीहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फिदिम नगरपालिका, फालेलुङ, हिलिहाङ गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिकाका स्थानीयमा डेंगीको संक्रमण देखिएको हो । डेंगी देखिएपछि कार्यालयले सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

डेंगी रोगबाट बच्ने उपायबारे जनचेतनामूलक सन्देश दिन विभिन्न संचारमाध्यबाट प्रचारप्रसार, माइकिङ, पत्राचार लगायतका कार्यक्रम गरेको कार्यालय प्रमुख तुम्बापोले बताए ।

तराईका मात्रै देखिने डेंगीका रोगी पहाडमा पनि भेटिन थालेपछि जिल्लाबासी त्रसित भएका छन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका बिरामीलाई ५ दिनसम्म ज्वरो आउने, आँखाको गेडी र टाउकोकोे पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिन्छ ।