Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चर्कंदै वरीयता विवाद


0
Shares

काठमाडौं, भदौ ३ । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता अन्तिम चरणमा पुग्न लागेका बेला सचिवालय संरचनामै गम्भीर प्रश्न उठाएका छन् ।

सचिवालयमा वरिष्ठहरुलाई पाखा लगाएर कनिष्ठलाई राखिएको भन्दै उनले सचिवालय विस्तारको प्रस्तावसमेत गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा आफ्नो पकड बलियो बनाउन अनुकूल निर्णयहरु गर्दै जाँदा त्यसको शिकार वरिष्ठ नेताहरु नै बनिरहेका छन् ।

कुनै समय माधवकुमार नेपाललाई आफ्नो पक्षमा पार्न झलनाथ खनाललाई घटुवा गरिएको थियो भने अहिले नेपाललाई घटुवा गरिएको छ ।

नेकपा नेता विष्णु रिजाल पहिला नेपाललाई वरिष्ठ तोक्दा पनि गल्ती भएको र अहिले खनाललाई वरिष्ठ तोक्दासमेत गल्ती भएको बताउँछन् ।

खनाललाई घटुुवा गरेर आफूलाई वरिष्ठ बनाउँदा चुप रहेका नेता नेपाल अहिले ‘विधानतः खनाल नै हो, वरिष्ठ नेता । उहाँले पाउनुपर्थ्यो’ भन्न थालेका छन् ।

नेपालले वरिष्ठतामा आपत्तिमात्र जनाएका छैनन्, पार्टी एकता अन्तिम चरणमा पुगेका बेला सचिवालयको संरचनामा नै गम्भीर आपत्ति जनाएका छन् ।

आफूलाई वरिष्ठबाट घटुवा र वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरिएपछि सचिवालय बैठकमै उनले वरिष्ठहरुलाई पाखा लगाएर कनिष्ठलाई सचिवालयमा राखिएको बताए ।

उनले तत्कालीन उपमहासचिव सचिवालयमा भएको भन्दै एमालेका तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाईसमेत समावेश गर्नुपर्ने जिकिर गरेका छन् ।

नेकपा नेता रिजाल भने अध्यक्षहरुले एउटा नेताविरुद्ध अर्को नेता प्रयोग गरेकाले नेपालले आपत्ति जनाएको बताउँछन् ।

भिडियो हेर्नुहोस्