
-सीता पाण्डेय/ईमेज
पाल्पा । प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पाल्पाको रैनादेवी छहरा गाउँपालिका मुझुङमा निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र अवस्थामा परेको छ ।
स्वास्थ्यचौकी निर्माणका लागि आवश्यक बजेट नभएपछि ४ वर्षअघि काम सुरु गरिएको स्वास्थ्यचौकी अलपत्र बनेको हो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट उपलब्ध नहुँदा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाअन्तर्गको मुझुङमा निर्माणाधीन स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र पर्दा जीर्ण भवनबाट सेवाप्रवाह गर्नुपर्ने बाध्यता छ ।
पानी चुहिने पुरानो तथा जिर्ण कोठाबाट सेवा प्रवाह गर्नुपर्दा समस्या भएको सेवाग्राही र सेवाप्रदायकले गुनासो गर्दै आएका छन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको क्रमागत योजनामा परे पनि विगत ४ वर्षदेखि बजेट नआउदा भवन निर्माण अलपत्र अवस्थामा रहेको वडाअध्यक्ष हुमान सि कार्कीको जवाफ छ ।
संघीय संरचना अनुसार तीनै तहको सरकार निर्माण भएपनि यस्ता सामान्य समस्या यथावत् रहँदा त्यसको अनुभूति धेरैले गर्न पाएका छैनन् ।
भएको भवन जीर्ण हुँद विरामीहरुको स्वास्थ्य जाँचका साथै औषधीको भण्डारमा समेत कठिन भएको स्वास्थ्य संस्थाका प्रमुख विश्वेश्वर नाथको गुनासो रहेको छ
अहिले निर्माण व्यवसायीले निर्माण गर्ने म्याद थपे पनि मन्त्रालयले बजेट निकायका लागि पहल नगरेको स्थानीय सरकारको गुनासो छ ।
भवन पुरा नहुँदा निर्माणधीन भवन खण्डहरमा परिणत हुँदै जाने अर्कोतर्फ जनता आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन सक्ने देखिन्छ ।
यस्ता संवेदनशील क्षेत्रमा सरोकारवाला पक्षको अटेरी अशोभनीय छ ।
प्रतिक्रिया दिनुहोस्