Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कोरोनाकालमा पनि भिजिट भिसाको दुरुपयोग: वायुसेवा निगम र अध्यागमन कर्मचारीको मिलेमतोमा मानव तस्करी


0
Shares

काठमाडौं । लकडाउन खुकुलो भएयता १० हजारभन्दा बढी नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । तीमध्ये ९० प्रतिशत अर्थात् करिब नौ हजार युवा स्वदेश नफिरेको गृह मन्त्रालयको छानबिनमा देखिएको छ । उनीहरू भिजिट भिसा दुरुपयोग गर्दै वैदेशिक रोजगारीमा गएको मन्त्रालयको निष्कर्ष छ ।

अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले भिजिट भिसाको व्यापक दुरुपयोग भइरहेको तथ्यसहितको प्रतिवेदन दिएको छ । उपसचिव रुद्र पण्डित नेतृत्वको समितिले गत बिहीबार गृहसचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ, जसमा लकडाउन खुलेयता ठूलो संख्यामा नेपाली नागरिक भिजिट भिसामा युएईलगायत मुलुकमा रोजगारीका लागि गएको उल्लेख छ ।

समितिले अन्तर्राष्ट्रिय उडान खुलेयताको तथ्यांक लिएर छानबिन गरेको थियो । १ सेप्टेम्बरदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएका थिए । १ सेप्टेम्बरदेखि १८ डिसेम्बरसम्म २६ हजार ४९ जना भिजिट भिसामा विभिन्न मुलुक गएको तथ्यांक छ । तीमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको ‘भिजिट भिसा डेस्क’ हुँदै आठ हजार ६ सय ७६ जना युएई गएको देखिएको छ । 

‘यो भिजिट भिसा डेस्कबाट गएकाको मात्र तथ्यांक हो,’ छानबिन समितिका एक अधिकारीले भने । तर, कोभिड–१९ का कारण अध्यागमनमा डेस्कको संख्या घटाइएकाले ‘भिजिट भिसा’बाहेकका डेस्कबाट पनि युवा युएई पुगेको छानबिन समितिको निष्कर्ष छ । ‘कोभिड–१९ का कारण विमानस्थलमा डेस्कहरू कम गरिएको थियो । त्यसैले अन्य डेस्कबाट पनि गएको देखिन्छ, यो चार महिनामा करिब १० हजार युएई गएका छन्, तीमध्ये ९० प्रतिशत स्वदेश फर्किएको देखिँदैन,’ समितिका ती अधिकारीले भने, ‘भिजिट भिसामा गएर नेपाल नफर्किनुले उनीहरू रोजगारीकै लागि गएको प्रस्ट हुन्छ ।’

नेपाल वायुसेवा निगमको पनि मिलेमतो
छानबिनमा अध्यागमनका कर्मचारीको भूमिका शंकास्पद देखिए पनि प्रतिवेदनमा मिलेमतो प्रस्टसँग औँल्याइएको छैन । बरु भिजिट भिसामा हुने मानव तस्करीमा नेपाल वायुसेवा निगमका कर्मचारीको मिलेमतो देखाइएको छ । फ्लाई दुबई र एयर अरेबियाको समेत बोर्डिङ पासको जिम्मेवारी निगमको भएको र निगमका कर्मचारीले पर्याप्त कागजपत्र नहुँदा पनि सेटिङका आधारमा बोर्डिङ पास दिने गरेको प्रतिवेदनमा औँल्याइएको छ ।

यात्रा शंकास्पद लागेमा र नियममा तोकिएअनुसार कागजपत्र नभएमा एयरलाइन्सले बोर्डिङ पास नै दिन नमिल्ने अध्यागमनको प्रावधान छ । तर, निगमका कर्मचारीले दुईतर्फी टिकट नभएकालाई समेत बोर्डिङ पास दिने गरेको छानबिनमा खुलेको छ ।

‘विगतमा भएका छानबिनमा पनिभिजिट भिसामा हुने मानव तस्करीमानिगमका कर्मचारीको मिलेमतो देखिएकोथियो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिलेको छानबिनमा पनि त्यस्तै देखिएको छ ।’ उनका अनुसार यसअघि भिजिटभिसामा शंकास्पद भूमिका देखिएका अध्यागमनका केही कर्मचारीलाई मन्त्रालय सरुवा गरिएको थियो । नयाँ पत्रिका