Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मुक्तिनाथ मन्दिर पुस २१ गतेबाट खुल्ने, दर्शनार्थीले यी शर्तहरू पालना गर्नुपर्ने


0
Shares

काठमाडौं । दश महिनादेखि बन्द रहेको मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । मुक्तिनाथ विकास समितिको पहलमा बसेको सर्वपक्षिय बैठकले २१ गतेबाट मन्दिर खुला गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरादेबी पौडेलका अनुसार यही पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड–१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै, दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पूजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड–१९ को जोखिम न्यूनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

मन्दिर बन्द रहँदा मुस्ताङको मात्र नभइ गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थियो । मुक्तिनाथ मन्दिर खोल्नु अघि मुक्तिनाथ मन्दिर क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षाको बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने भएको छ । मन्दिर आउने दर्शनार्थीले बढीमा एक घण्टा मुक्तिनाथ क्षेत्रमा बिताउन पाउनेछन् ।

यस्तै, मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनले १०८ धारा र कुण्डमा स्नान गर्न रोक लगाइने र भक्तजनले समितिले तोकेका नियममा रही भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने छ ।

Skip This