काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको तुलनामा यस वर्ष विशेष अदालतमा धेरै मुद्दा दर्ता गरेको छ ।
३० वर्षको इतिहासमा आर्थिक वर्ष २०७६/७७ मा अहिलेसम्मकै धेरै ४ सय ४१ वटा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेको जनाएको छ ।
आयोगको स्थापनादेखिको इतिहासमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ भएको हो । आयोगले यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३ सय ७५ वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले बिहीबार राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनअनुसार विशेष अदालतमा दर्ता भएका धेरै मुद्दा घुससँग सम्बन्धित छन् ।
आयोगले अहिलेसम्मकै इतिहासमा रेकर्ड ब्रेक भनेको मुद्दामध्ये रंगेहात पक्राउ गरेर चलाइएका मुद्दा धेरै छन् । जसलाई आयोगले आफ्नो ठूलो सफलता मानेको छ ।
आयोगले आर्थिक वर्ष २०७६/७७ मा २०५ वटा रिसवत घुससँग जोडिएको मुद्दा दर्ता गरेको जनाएको छ ।
त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ८५ वटा, सार्वजनिक सम्पत्ति हानि नोक्सानीतर्फ ७५ वटा, गैरकानुनी लाभतर्फ ३६ वटा, राजस्व हिनामिनातर्फ १२ वटा, गैरकानुनी सम्पत्ति आर्जनको १८ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको छ । त्यस्तै विविध विषयमा १० वटा मुद्दा दर्ता भएको छ ।
अख्तियारले स्थापनादेखि विशेष अदालतमा २ हजार ८७८ वटा मुद्दा दर्ता गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सोअनुसार औसतमा प्रतिवर्ष ९६ वटा मुद्दा अदालतमा दर्ता हुने गरेको छ । त्यस्तै आयोगले २०७६/७७ मा दर्ता गरिएका मुद्दामध्ये १९७ वटा मुद्दामा फैसला भएको जनाएको छ ।
फैसला भएका मुद्दामध्ये १६७ अर्थात् ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचार प्रमाणित भएको थियो । विशेष अदालतको फैसलाविरुद्ध आयोगले २० वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको र २ वटामा पुनरावलोकन भएको जानकारी दिएको छ ।
अख्तियारले यसअघि आर्थिक वर्ष २०७५/७६ मा २४ हजार ४८ उजुरीमध्ये १५ हजार ६११ उजुरी फछ्र्योट गरेको थियो ।
जसमध्ये ९२१ उजुरीको विस्तृत अनुसन्धान गरेको थियो । सोही अवधिमा गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरीमा १२ हजार ४ सय उजुरी फछ्र्योट गरेको थियो ।
अख्तियारमा सबैभन्दा थोरै आर्थिक वर्ष २०४८/४९ र २०५१/५२ मा एक एक वटा मात्रै मुद्दा दर्ता भएको थियो । राजधानी










प्रतिक्रिया दिनुहोस्