काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् ।
ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा सुझाब लिएका छन् ।
सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाब दिएका थिए ।
ओलीको प्रस्तावबाट गौतम फेरि एकपटक तरंगित भएका छन् । यद्यपि, यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।
प्रधानमन्त्री ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरेकाले सो विषयमा छलफल भइरहेको जानकारी दिए ।
‘एक व्यक्ति : एक पद र विधि र पद्धतिको एजेन्डामा सहमति जनाएर अहिले माधव कमरेडलाई अध्यक्ष बनाउँदा माधव र प्रचण्ड कमरेड समूह मात्रै खुसी हुने अवस्था छ । तर, त्यसो गर्दा प्रधानमन्त्रीको विचार समूह खुसी नहुने र सम्झौता पनि नगर्ने अवस्था बन्यो, जनमत र चुनावी घोषणापत्रलाई ख्याल गर्दै प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्ने कुरा पनि भएन,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले भने, ‘यो अवस्थामा केपी र माधव कमरेडका दोस्रो तहका केही नेताहरूले वामदेव कमरेडलाई अध्यक्ष बनाउँदा समस्या समाधान हुन सक्छ भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक मानेर अगाडि बढाउन निर्देशन दिनुभएको सन्देश आएको छ । त्यसैले उहाँ (गौतम)ले हामीलाई छलफलका लागि बोलाउनुभएको थियो, उहाँले ती कुराहरू हामीलाई जानकारी गराउनुभएको छ ।’
छलफलमा सहभागीले पार्टीमा अहिले रहेको तीनवटै समूहको साझा अध्यक्ष बन्ने गरी अगाडि बढ्न सुझाब दिएको पनि बताए । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्