२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


तान्जानियामा पेट्रोल ट्यांकर विस्फोट, कम्तीमा ६० जनाको मृत्यु


0
Shares

दार एस सलाम, साउन २५ । पेट्रोल बोकेको ट्यांकर विस्फोट हुँदा तान्जानियामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्यांकर पल्टिएर विस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ ।

प्रहरीकाअनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।

‘हामी एकदमै हतारमा छौं, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौं’–प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए ।

उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको पनि जानकारी दिएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने ती अधिकारीले अनुमान गरेका छन् ।

जलेर घाइते भएकामध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो ।

एउटा मोटरचालकलाई छलेर अगाडि बढाउन खोजिरहेका बेला ट्यांकर पल्टिएको हो ।

ट्यांकर पल्टिएपछि ट्यांकरबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो । रासस/सिन्ह्वा