Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


चिकित्सकसँग आफ्नै छोराको मृत्युका लागि याचना गरिरहेका छन् एक पिता


0
Shares

लन्डन, साउन १३ । आफ्नो सन्तानको मृत्यु कसले चाहन्छ होला र ? धन–सम्पत्तिले भ्याएसम्म खर्च गरेर आफ्नो सन्तानलाई बचाउन हरेक आमाबाबुले प्रयास गर्छन् ।

सबै रोग चिकित्सकले निको पार्न सक्छन् भन्ने छैन । त्यसैले पनि मरेतुल्य जीवन बाँचिरहेका आफ्ना छोराको मृत्युका लागि एक बेलायती पिताले चिकित्सकसँग याचना गरिरहेका छन् ।

४७ वर्षीय फ्रन्क मड्डक्सले आफ्नो २३ वर्षीय छोराको काभनको मृत्युका लागि याचना गरेका हुन् । तीन वर्ष अघिदेखि ‘कोमा’ मा रहेका छोरालाई ‘मर्न दिन’ उनले चिकित्सकसमक्ष याचना गरेका हुन् ।

काभन तीन वर्षअघि चार तले कार पार्किङस्थलबाट खसेका थिए । त्यतिबेला उनको मस्तिष्कमा गम्भीर चोट लागेको र उनी कोमामा गएको फ्रन्कले बताए ।

हाल उनलाई कृत्रिम रुपमा बचाइराखेको, नलीका माध्यमबाट खाना खुवाउने गरेको र चिकित्सकहरुले बढीमा २/३ वर्षसम्म यसरी बाच्न सक्ने बताएको उनको भनाइ छ । ‘यसरी केही वर्ष बचाए पनि उसलाई हामीले सकुशल पाउने सम्भावना समाप्त भइसकेको छ,’ उनले भने, ‘आफ्नो छोरा मरोस् भन्ने कसले चाहन्छ र ? ऊ बाच्थ्यो भने हामी जे पनि गर्न तयार हुन्थ्यौं, तर सम्भावना नै नरहेपछि यो हालतमा उसलाई हेरिरहँदा हामीलाई समेत पीडा हुन्छ ।’

उनलाई खाना खुवाउनका लागि कृत्रिम मेसिनको सहारा लिनु परेको छ । चिकित्सकहरुले ‘मेसिन’ झिक्न अस्वीकार गरेपछि आफूले याचना गरेको उनको भनाइ छ । ‘२/३ वर्ष यसरी बचाउन सकिन्छ भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘तर म ऊ मरोस् भन्ने चाहन्छु । भन्दा यो कुरा मानिसहरुलाई भयानक लाग्न सक्छ तर परिवार र उसका साथीहरु पनि उसको मृत्यु नै चाहिरहेका छन् ।’

चमत्कारपूर्ण तरिकाले छोरा निको भएमा आफूहरुलाई जीवनकै सबैभन्दा ठूलो खुशी प्राप्त हुने उनको भनाइ छ । ‘अस्पतालमै हामीले तीन पटक उसका जन्मदिन मनायौं, तीनवटा क्रिसमस त्यसरी नै मनायौं तर उसलाई ती सब थाहा नै छैन,’ उनले भने, ‘यो अवस्थामा उसलाई अझ कति राखौं ?’ (एजेन्सी)

 

Skip This