४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो, हेलिकोप्टरमार्फत राहत पुर्‍याइँदै


0
Shares

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।

उनीहरुको आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । यो सँगै वेपत्ता सबैको शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ ।

पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर माध्यामिक विद्यालय, ढुङ्गाचाल्ने, भानु प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय, सरस्वती माध्यामिक विद्यालयलगायतका स्थानमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा पुग्ने अधिकाँश क्षेत्रका सडक अवरुद्ध भएका छन् । पानी रोकिएपछि आज बिहान हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ ।

हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

विपत व्यवस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा पुर्‍याइएको हो ।

प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।