काठमाडौं । नयाँ निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि नेपाल–अमेरिका सम्बन्धबारे चर्चा सुरु भएको छ ।
पूर्वपरराष्ट्रसचिव एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूतहरू अन्तर्राष्ट्रिय उदारवादी वातावरण हुने, अन्तर्राष्ट्रिय धु्रवीकरणको प्रक्रिया मत्थर हुने, मध्यपूर्वको तनाव मत्थर हुने र नेपालमा मिलिनियम कर्पोरेसन (एमसिसी)बारे नयाँ शिराबाट छलफल सुरु हुने टिप्पणी गर्छन् ।
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यको विश्लेषणमा अमेरिकामा नेतृत्व परिवर्तनले नेपाल–अमेरिका सम्बन्धमा धेरै फरक नपर्ने, तर विश्वव्यापी लोकतान्त्रिक वातावरण बन्ने हुनाले त्यसबाट नेपाललाई पनि सहज अवस्था हुनेछ ।
‘बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिससँग नेपालीको पहुँच रिपब्लिकनहरूको भन्दा सहज छ । इन्टरनेसनल अर्डर फ्रेन्ड्ली हुन्छ । बाइडेन उदारवादी धारका हुनाले त्यसले हामीलाई पनि राम्रै हुन्छ,’ आचार्यले नयाँ पत्रिकासँग भने ।
अब संयुक्त राष्ट्रसंघमा अमेरिकी भूमिका बढ्ने, जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने अवस्था नेपालका लागि पनि सकारात्मक हुने उनको बुझाइ छ । ‘मुख्य त अमेरिकामा जुनसुकै पार्टीको सरकार गठन भए पनि सम्बन्धमा तात्विक फरक पर्दैन, दुवै प्रशासनसँग हाम्रो सम्बन्ध हार्दिक रहँदै आएको छ,’ आचार्यको भनाइ छ ।
कागजात नपुगेर अमेरिकामा चिन्तित भएका नेपाली समुदायका लागि बाइडेनको विजयले राहत दिलाउने आचार्यको बुझाइ छ । किनकि निवर्तमान हुँदै गरेका रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई आफ्नै देश फर्काइदिने चेतावनी दिएका थिए ।
अमेरिकाका लागि पूर्वराजदूत डा। सुरेशराज चालिसको बुझाइमा बाइडेनको विजयले अन्तर्राष्ट्रिय वातावरणमा भिन्नता आउनेछ, तर नेपालका लागि अरू प्रशासनभन्दा आधारभूत भिन्नता हुनेछैन । ‘अब पक्कै पनि मध्यपूर्वको क्षेत्रीय तनाव कम हुनेछ, विश्व स्वास्थ्य संगठन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा अमेरिका फर्किनेछ ।
चीनसँगको व्यापार युद्ध केही हदसम्म मत्थर हुनेछ,’ पूर्वराजदूत डा. चालिसे भन्छन्, ‘ट्रम्पले लेफ्ट वा राइट कित्तामा विश्वलाई धु्रवीकृत गरिरहेका थिए, बाइडेनको पृष्ठभूमिअनुसार उनले दुवैलाई सन्तुलनमा राख्ने भूमिका निर्वाह गर्छन् भन्ने मलाई लाग्छ ।’
डा. चालिसेको बुझाइमा नेतृत्व परिवर्तनले नेपाललाई भने तात्विक फरक पर्दैन । ट्रम्प प्रशासनको विपक्षमा उभिँदा पनि अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको चालिसेको दाबी छ । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्