
काठमाडौं । इरानले अमेरिकी गुप्तचर निकाय सीआईएका केही जासुसलाई पक्राउ गरी मृत्युदण्ड दिएको दाबी गरेको छ ।
इरानको गुप्तचर मामिला हेर्ने मन्त्रालयले सीआईएका १७ जना जासुस पक्राउ गरी केहीलाई मृत्युदण्ड दिएको जनाएको हो ।
महत्वपूर्ण मानिने सेना र परमाणु गतिविधिसम्बन्धी जानकारी संदिग्धरुपमा संकलन गर्नेहरुलाई मृत्युदण्ड दिइएको हो ।
पक्राउ परेका केहीलाई लामो जेल सजाय सुनाइएको इरानको भनाइ छ ।
इरानले सरकारी सञ्चारमाध्यमार्फत् सन् २०१९ को मार्च यता ती आरोपित गुप्तचरलाई पक्राउ गरिएको जनाएको हो ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले पूर्णतयाः झुठो विवरण सार्वजनिक गरेको बताएका छन् ।
पछिल्ला दिनहरुमा अमेरिका र इरानबीच विवाद बढ्दै गएको छ ।
अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्राष्ट्रिय परामाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गर्दै इरानमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए ।
गत शुक्रबार मात्रै इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको थियो ।
यसअघि गतमहिना इरानले आफ्नो हवाइ क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको भन्दै एउटा अमेरिकी जासुसी ड्रोन खसालिदिएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्