Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कोरोना संक्रमितलाई अस्पतालमा भर्ना पाउनै कठिन, तर अस्पतालमा बेड खाली


0
Shares

काठमाडौं । देशैभर कोरोना संक्रमितले कोभिड अस्पतालमा सघन उपचार कक्ष आइसियू, भेन्टिलेटर मात्रै होइन आइसोलेसन बेडसमेत पाएका छैनन् ।

‘बेड खाली छैनन्’ भन्दै अस्पतालले बिरामी भर्नामा आनाकानी गरिरहेका छन् । तर, उपत्यकामा मात्रै होइन बाहिरसमेत आधाभन्दा बढी बेड अहिले पनि खाली रहेको पाइएको छ ।

नयाँ पत्रिकाले सोमबार उपत्यकाबाहिरका सातै प्रदेशका २३ वटा कोभिड अस्पतालमा सम्पर्क गर्दा कोरोनाका लागि मात्रै उपचार गर्ने भनेर छुट्याइएको एक हजार आठ सय १० बेडमध्ये एक हजार दुई सय ५८ बेड खाली रहेको पाइएको छ ।

ती अस्पतालमा पाँच सय ५२ जना कोरोना संक्रमित मात्रै भर्ना छन् । तीमध्ये एक सय ४७ आइसियू र २३ जना भेन्टिलेटरमा छन् ।

यी २३ अस्पतालमा एक सय ९७ वटा आइसियू बेड रहेकोमा ५० बेड आइसियू अहिले पनि खाली छन् । ती अस्पतालमा ८२ वटा भेन्टिलेटरमध्ये ५९ वटा खाली नै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक उपलब्ध गराउन नसकेपछि नयाँ पत्रिका आफैँले अस्पतालमा सम्पर्क गरी कोरोना संक्रमित भर्ना र खाली बेडबारे जानकारी लिएको थियो ।

अस्पतालहरूबाट प्राप्त तथ्यांकअनुसार कोभिड उपचार हुनेमध्ये चारवटा अस्पतालमा मात्रै पूर्ण क्षमताअनुसार चाप छ । यता आइसियू बेडमा भने सातवटा अस्पतालमा पूर्ण चाप छ । धनगढी अस्पताल, सेती अञ्चल अस्पताल, विराट मेडिकल कलेज र भीम अस्पतालमा आइसोलेसन बेड भरिएका छन् ।

त्यसैगरी भरतपुर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती अञ्चल अस्पताल, चितवन मेडिकल कलेज र विराट मेडिकल कलेजमा पूर्ण क्षमतामा आइसियूको चाप छ ।

काठमाडौं उपत्यकामा १४ कात्तिकसम्म १९ सय ५५ बेडमध्ये आधा संख्या अर्थात् एक हजार ६९ बेड खाली भएको सरकारी तथ्यांकले देखाएको थियो । उक्त अवस्था अहिले पनि उस्तै छ ।

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् । तर, संक्रमितहरू अस्पतालमा बेड नपाएर होम आइसोलेसनमै मर्न थालेका छन् । नयाँ पत्रिका दैनिकबाट