Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


प्रधानमन्त्रीको दशैं शुभकामनामा कांग्रेसको आपत्ति, लिम्पियाधुराबिनाको नक्शा प्रयोगमा प्रश्न


0
Shares

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि कांग्रेसले प्रश्न उठाएको हो ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोध्नु भएको हो ।

देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको हो ।

शर्माले आफ्नो ट्वीटमा लेख्नुभएको छ, ‘लिम्पियाधुरारहित नेपालको नक्शा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू ? गम्भीर विमती दर्ज होस् ।’

ओली नेतृत्वमा भारतले हडपेको जमीन फिर्ता हुनेमा संशय गर्दै शर्माले प्रश्न गर्नुभएको छ, ‘देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?

प्रधानमन्त्री ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको छ ।

तर उक्त छापमा रहेको नेपालको नक्शामा भने हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग नसमेटी पुरानै नक्शा राखिएको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

Skip This