३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणका सम्बन्धमा ट्रम्पको बोली फेरियो


0
Shares

काठमाडौं, साउन २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु निःशस्स्त्रीकरणमा कुनै हतार नभएको बताएका छन् ।

यसअघिको आफ्नै बोली फेर्दै ट्रम्पले हतारमा निःशस्त्रीकरण प्रक्रिया अगाडि बढाउनु आवश्यक नभएको बताएका हुन् ।

तर, यसअघि भने ट्रम्पले यो प्रक्रिया निकै छिटो सुरु हुने बताएका थिए ।

प्योङयाङसँगको छलफल राम्रोसँग भइरहेको तर प्रतिबन्ध भने कायमै रहेको उनले जानकारी दिए ।

पत्रकारहरुसँग अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकी बन्दीहरु रिहा गरेको, ९ महिनायता थप आणविक परीक्षण नगरेकाले दुई मुलुकको सम्बन्ध निकै राम्रो रहेको बताए ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिन पनि निःशस्त्रीकरणका सम्बन्धमा अमेरिकाको साथमा रहेको ट्रम्पको भनाइ थियो ।

गत जुन १२ मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो । जसमा कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति गरिएको थियो ।

तर, उक्त सहमतिको कुनै समयसीमा र योजना निश्चित गरिएको थिएन । शिखर वार्तापछि यस विषयमा केही प्रक्रिया भने सुरु भएको छ । (एजेन्सी)