Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


नाइजेरियामा चार सवारी–साधन ठोक्किए, १९ जनाको मृत्यु


0
Shares

अबुजा, असार २३ । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

कानो राज्यअन्तर्गत्को डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राति अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ ।

घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाकाबारेमा भने–‘चारओटा सवारी–साधन ठोक्किएर दुर्घटना भएको हो । तीमध्ये दुईओटा बस र अरु दुईओटा कार रहेका छन् । उनीहरु एकार्काका विपरीत दिशाबाट आएका थिए ।’

उनीहरु सबैले सडकमा रहेका खाल्डा–खुल्डी छल्नेक्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएकामध्ये १४ जना वयस्क पुरुष, तीनजना वयस्क महिला र दुईजना बालबालिका रहेका छन् ।

नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् ।

विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापरबाही तथा ट्राफिक नियमको उल्लंघनलगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् । रासस/सिन्ह्वा