Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत जानेक्रम रोकिएन


0
Shares

कन्चनपुर । कञ्चनपुुरको सीमानाकामा भारत जानेको लर्को बढ्न थालेको छ ।

दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।

बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् ।

विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।

तर यस पटक मजदूरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।

गाउँमा रोजगारी नपाइनाले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवालाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ तर भारत जाने क्रम भने रोकिएको छैन ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवा बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताउनुभयो ।

उहाँले विपन्न समुदायमा छाक टार्नसमेत धौ धौ हुने स्थिति देखिन थालेको बताउनुभयो ।