१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नाघ्यो


0
Shares

नयाँदिल्ली, असोज १७ । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ ।

एकैदिनमा संक्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिनअघिसम्म दैनिक झन्डै एक लाख मानिस संक्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।

सरकारी अधिकारीहरुकाअनुसार पछिल्लो २४ घन्टामा भारतमा ७९ हजार ४७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ५४ लाख २७ हजार ७०७ जना संक्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा सबैभन्दा धेरै संक्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्र प्रदेशमा धेरै संक्रमितहरु रहेका छन् ।

भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार ४०३ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये शुक्रबारमात्रै ११ लाख ३२ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।