
काठमाडौं, असार १९ । अमेरिकाले अझै शत्रुतापूर्ण व्यवहार नछाडेको उत्तर कोरियाले आरोप लगाएको छ ।
दुई देशबीच परमाणुसम्बन्धी वार्ता फेरि सुरु गर्न सहमति भएको केही दिनपछि नै उत्तर कोरियाको यस्तो भनाइ सार्वजनिक भएको हो ।
संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिले बुधबार अमेरिकाले प्रतिबन्धहरूप्रति आशक्ति देखाएको जनाएका थिए ।
प्रतिनिधिमन्डलले प्रशोधित पेट्रोलियम निर्यात गर्न पाउने सन् २०१७ को सम्झौता तोडेको अमेरिकी आरोपको जवाफ दिएको जनाएको छ ।
प्योङयाङले प्रतिबन्धलाई समस्याको अचुक औषधि भनेर हेर्ने दृष्टिकोण निकै हास्यास्पद भएको जनाएको छ ।
उसले वासिङ्टनलाई कोरियाली प्रायद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेकोसमेत आरोप लगाएको छ ।
गत आइतबारमात्र दक्षिण कोरिया भ्रमणकाक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरिया विभाजन गर्ने गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका थिए ।
ट्रम्प र किमबीचको वार्तामा निःशस्त्रीकरणसम्बन्धी अवरूद्ध वार्ता फेरि सुरु गर्ने विषयमा छलफल भएको थियो ।
अमेरिकाले भने यससम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्