२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आप्रवासी बाबु–छोरीको दाहसंस्कार


0
Shares

मेक्सिको सिटी, असार १७ । मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ महिनाकी छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ ।

अवैध आप्रवासीकारुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुवैको गत जुन २३ मा मृत्यु भएको थियो ।

उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् ।

साल्भाडोरका सन्चारमाध्यमकाअनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुवैको दाहसंस्कार गरिएको हो ।

परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन ।

सन्चारमाध्यमहरुकाअनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।

ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो ।

अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले दुवैको शव रियो ग्रान्डे नदीको मेक्सिकोतर्फको किनारामा जुन २४ मा फेलापारेका थिए ।

छोरी भ्यालेरीको शव भने बाबुको शर्टमा बाँधिएको अवस्थामा भेटिएको थियो ।

ओस्कार र भ्यालेरीको शव आइतबार मेक्सिकोबाट सान साल्भाडोर ल्याइएको थियो ।

मार्टिनेज र उनकी पत्नी सान–साल्भाडोरको एक रेस्टुराँमा काम गर्दथे । तर, उनीहरु संयुक्तराज्य अमेरिकामा राम्रो अवसरको खोजीमा गत अप्रिलमा मेक्सिको प्रस्थान गरेका थिए र रियो ग्रान्डे नदी पार गरेर अमेरिका प्रवेश गर्न चाहन्थे ।

यस्तै दुःखद् घटना यसअघि पनि भएका छन् । गत जुन २५ मा पनि रियो ग्रान्डे नदीमै एक व्यक्तिको शव फेलापरेको थियो । यस वर्ष थुप्रै व्यक्ति नदीमा डुबिसकेका छन् ।

अमेरिकी सीमा प्रशासनले सन् २०१८ मा २८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । तर, अधिकारकर्मीहरुले मृत्यु हुनेको वास्तविक संख्या अझ बढी रहेको दाबी गरेका छन् ।

अमेरिका–मेक्सिकाबीच करिब तीन हजार किलोमिटर सीमा रहेको छ ।

मध्य अमेरिकी मुलुकहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसबाट हरेक वर्ष ठूलो संख्यामा अवैधरुपमा अमेरिका प्रवेश गर्नेक्रम वर्षौंदेखि जारी छ ।

अमेरिकी ट्रम्प प्रशासनले अवैध आप्रवासी नियन्त्रणका लागि प्रवेशमा कठोर कदम चाल्ने बताउँदै आएको छ । रासस/सिन्ह्वा