२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


एउटै विहेमा दुई अर्ब खर्चः तीन सय क्वीन्टल फोहोर विसर्जन


0
Shares

काठमाडौं । भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ ।

नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए ।

गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए ।

निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए ।

विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो । रासस/एएनआई