२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेक्युरिटी प्रेस खरिद प्रकरणः पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।

मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए ।

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?
१५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रियामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।

तत्कालीन अवस्थामा स्विस कम्पनीसँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकरणमा सामेल रहेको छैन ।

यस आधारमा बाँस्कोटाले अख्तियारबाट क्लिन चिट पाउने सम्भावना देखिएको छ ।

मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधारहरू तय हुन सक्ने देखिएको अख्तियार उच्च स्रोतको भनाइ छ ।

रेकर्ड गरिएको भनिएको सिडीको आधिकारिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बताइएको छ ।-राजधानी दैनिकबाट