कन्चनपुर, असार ५ । कन्चनपुरको महेन्द्रनगरमा जारी मिराइ प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् बिहीबारका खेलमा सशस्त्र प्रहरी र प्रदेश नम्बर–३ विजयी भएका छन् ।
सशस्त्रले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन बनायो ।
कविता जोशीले सर्वाधिक २९ रन बनाएको इनिङ्समा सरिता मगर र सीता रानामगरले समान २/२ विकेट लिए ।
जवाफमा सशस्त्रले ११ ओभरमा कुनै विकेटको क्षतिविना नै विजय पायो ।
सीता रानामगरले ३५ बलमा ५१ तथा ज्योति पाण्डेले ३१ बलमा २८ रन जोडिन् ।
बिहीबारै भएको पहिलो खेलमा प्रदेश–३ ले कर्णाली प्रदेशलाई ९० रनले हरायो ।
पहिले ब्याटिङ गरेको प्रदेश–३ ले अस्मिना कर्माचार्यको अविजित ४७ रनको मद्दतले २० ओभरमा ३ विकेटको क्षतिमा १५६ रन बनायो । जवाफमा कर्णाली १५ ओभर ३ बलमा अलआउट हुँदै ६६ रनमा रोकियो ।
प्रदेश–३ की खुसी डंगोलले कीर्तिमानी बलिङ गरेकी छन् । खुसीले एक ओभर ३ बल बलिङ गर्दैै एक मेडेन राखेर कुनै रन नदिइ ५ विकेट लिइन् । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।








प्रतिक्रिया दिनुहोस्