२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसार ठग्ने ‘अमेरिकी ब्ल्याक डलर स्क्याम’को कनेक्सन नेपालसम्म


0
Shares

काठमाडौं । अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत डलर आकारको एउटा कागजको टुक्रोको तस्बिर पठाए ।

तस्बिरसँगै ‘ब्ल्याक डलर स्क्याम’का एजेन्टले यस्तै कागज प्रयोग गरी ठगिरहेको सन्देश पनि थियो । त्यति बेला एसएसपी थापाले त्यसप्रति खासै चासो दिएनन् ।

सोल्टी होटेलबाट ३० साउनमा पक्राउ परेका मध्य अफ्रिकी मुलुक अंगोलाका नागरिक सिल्भा एन्टोनियो डा कोस्टा (४८ वर्ष)को कोठाबाट डलर आकारमा काटिएका कालो कागजका बन्डल फेला परेपछि मात्र एसएसपी थापा झस्किए ।

उनी तत्काल वेबसाइटमार्फत ‘ब्ल्याक डलर स्क्याम’को थप विवरण खोज्न थाले । सूचकले भनेजस्तै कागज प्रयोग गरी करोडौँ ठगी हुने गरेको तथ्य भटाभट फेला पारे । पक्राउ परेका सिल्भा सामान्य अभियुक्त नभएको निचोडमा उनी पुगे ।

सिल्भा बसेको ठमेलस्थित होटेलको कोठामा थप खानतलासी लिइयो । र, पर्दामा स्टिच लगाएर लुकाइराखेको अवस्थामा थप तीन लाख रुपैयाँ बरामद भयो । त्यसबाहेक ‘ब्ल्याक डलर’ धुन प्रयोग गरिने रसायनका बोतल, नक्कली नेपाली रुपैयाँ र अमेरिकी डलर भेटिए ।

‘सामान्य ठगी मुद्दामा उनलाई पक्राउ गरेका थियौँ, तर बरामद सामग्रीका आधारमा उनी सानातिना ठग होइनन् भन्ने पुष्टि भएको छ,’ एसएसपी थापा भन्छन्, ‘उनी ब्ल्याक डलर स्क्यामकै सदस्यजस्ता देखिन्छन् ।’

महाशाखाले उनीबाट बरामद कालो कागजका बन्डल र रसायनजस्तो देखिने झोल परीक्षणका लागि काठमाडौंस्थित अमेरिकी दूतावास पठाएको छ ।

दूतावासको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानले नयाँ मोड लिने एसएसपी थापा बताउँछन् । भन्छन्, ‘शंका गरेकै कोणबाट रिपोर्ट आएमा नेपाल प्रहरीका लागि अनुसन्धानमा यो नयाँ अभ्यास हुनेछ ।’-नयाँ पत्रिका दैनिकबाट