Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नुवाकोटको सात तले दरबार पुनर्निर्माण सुरु


0
Shares

नेपाल एकीकरणको जीवित इतिहास बोकेको नुवाकोटको सात तले दरबारको पुनर्निर्माण सुरु भएको छ ।

२०७२ सालमा गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएको दरबारलाई चिनियाँ टोलीले पुनर्निर्माण सुरु गरेको हो । १८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगढ झिकाइ सात तले दरबार बनाएका थिए ।

भूकम्पले क्षति पुर्‍याएको दरबारलाई फलामे पोलको टेको लगाएर अड्याइएको थियो । पुरातत्व विभागअन्तर्गत रहेर चीन सरकारले दरबारको पुनःनिर्माण सुरु गरेको हो ।

सरकारले २०६८ वैशाख १३ गते नुवाकोट दरबारलाई संग्रहालय घोषणा गरेको थियो । संग्रहालयको रुपमा स्थापित भएको ऐतिहासिक दरबार ४ बर्षपछि भूकम्पकै कारण बन्द भएको थियो । जुन हालसम्म पनि बन्द छ । 

दरबार अवलोकन गर्न आउने दैनिक सयौं पर्यटक टेकोले अड्याइएको बाहिरी आवरण हेरेर फर्कने गरेका छन् । भूकम्पले जीर्ण बनेको दरबारलाई पहिलाकै स्वरुपमा ल्याउने गरी पुनःनिर्माण सुरु भएको स्मारक हेरचाह तथा दरबार संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुनप्रसाद फुयालले बताए ।

चीनसँगसम्झौता भएको २ वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको हो । आगामी चार वर्षभित्र पुनर्निर्माण सम्पनन गर्ने लक्ष्य राखिएको पुरातत्व विभागले जनाएको छ । पुरातत्व विभागका अनुसार दरबार र आसपासमा रहेका सबै सम्पदाको पुनर्निर्माण गर्न लाग्ने रकम चीन सरकारले बेहोर्ने छ ।