२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुडानका पूर्वराष्ट्रपतिलाई अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइयो


0
Shares

सुडान, असार २ । भ्रष्टाचारको आरोप लागेका सुडानका पूर्वराष्ट्रपति ओमार अल बसिरलाई अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ ।

पूर्वराष्ट्रपति बसिरमाथि भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । उनीमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको हो ।

अनुसन्धानका लागि उपस्थित गराइँदा उनी सुडानको परम्परागत पहिरनमा थिए । उनलाई कडा सुरक्षाका साथ राजधानीस्थित कोबर जेलबाट अभियोजनकर्ताको कार्यालयमा ल्याइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बसिरलाई सत्ताच्युत गरिएपछि पहिलो पटक सार्वजनिकरूपमा देखाइएको हो । उनलाई गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्युत गरिएको थियो । पूर्वराष्ट्रपति बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाइका लागि चाँडै अदालतमा उपस्थित गराइने अधिकारीहरुले जनाएका छन् ।

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महँगीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानले ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई सेनाको सहयोगमा पदच्युत गरेका थिए । पदच्यूत गरेपछि उनको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन देशका मुद्रा जफत गरिएको प्रशासनले दाबी गरेको छ । (एजेन्सी)