२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नयाँ कारले भरिएका डाँडा (तस्वीर)


0
Shares

शिमला, जेठ २९ । भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमला नजिकैका स–साना डाँडाका कान्लामा सयौंको संख्यामा नयाँ कार पार्किङ गरेको पाइन्छ । ती कार देख्दा लाग्छ– यहाँका मानिस निकै समृद्ध र सम्पन्न छन् ।

तर, वास्तविकता फरक छ ।

कुनै बेला अन्न तथा तरकारी खेती हुने खेतबारीमा नयाँ कार पार्किङ गर्नु स्थानीय किसानको बाध्यता हो ।

शिमला परवानु राष्ट्रिय राजमार्गस्थित शोगी गाउँमा कयौं किसानले खेती गर्न छाडेका छन् । बँदेल, बाँदर र नील गाईले बाली नष्ट गर्न थालेपछि उनीहरुले खेती छाडेका हुन् ।

बाँझो जमिन अहिले मोटर कम्पनीले भाडामा लिएर नयाँ गाडी पार्किङ गर्ने थलो बनाएको हो । स्थानीय कृषकका अनुसार जंगली जनावरले बाली नोक्सान गर्न थालेपछि बाँझो छाडिएको खेतबारी विभिन्न मोटर कम्पनीले भाडामा लिएर पार्किङस्थल बनाएका हुन् । ती खेतबारीमा नयाँ मोटर ल्याएर पार्किङ गरिन्छ । आवश्यकताअनुसार त्यहाँबाट ‘शो–रुम’मा लगेर बेचिन्छ ।

जलेल गाउँ निवासी कान्तादेवी भन्छिन्, ‘कार कम्पनीले हाम्रो जमिन भाडा लिनु भगवानकै कृपाजस्तै भएको छ, खाली जमिनबाट केही न केही आम्दानी त भइरहेको छ ।’

खाली रहेको जमिनबाट मासिक ८–१० हजार रुपैयाँ पाउनु पनि ठूलो कुरा भएको उनले बताइन् ।

शिमलाबाट २०–२५ किलोमिटरको दूरीमा रहेका ५–६ गाउँमा एक हजारभन्दा बढी कार पार्किङ गरिएको छ । (बीबीसी)