
काठमाडौं । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका हजारौं नागरिकले प्रदर्शन गरेका छन् ।
हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए ।
यो प्रदर्शन सन् २०१४ को अम्रेला मुभमेन्ट पछिकै विशाल भएको बताइएको छ ।
हङकङका नेता क्यारी लामले विधेयकको नयाँ व्यवस्था जुलाई अघि पारित हुने दाबी गरेका छन् ।
विधेयक पक्षधरले राजनीतिक तथा धार्मिक मुद्दाका आरोपीलाई चीनमा सुपुर्दगी गर्नबाट रोक्ने व्यवस्था विधेयकमा रहेको दाबी गरेका छन् ।
तर प्रदर्शनकारीहरुले भने सुपुर्दगी गर्नेसम्बन्धी प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई लक्षित गर्ने जिकिर गरेका छन् ।
प्रदर्शनमा सहभागी कतिपयले उक्त विधेयकले विश्वकै एक वित्तीय केन्द्रका रुपमा रहेको हङकङको अर्थतन्त्रमा समेत प्रभाव पार्ने जनाएका छन् ।
सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगी गर्न आग्रह गर्न व्यवस्था छ ।
यद्यपी उनीहरुलाई सुपुर्दगी गर्ने÷नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ ।
हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् ।
उनीहरुले राजनीतिक तथा धार्मिक अपराधमा संलग्नलाई सुपुर्दगी नगरिने दाबी गरेका छन् । हङकङले हालसम्म २० देशसँग सुपुर्दगी सन्धि गरिसकेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्