Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


को राष्ट्रघाती दलाल, को महान् राष्ट्रवादी ?: चितवनबाट दाहालको चेतावनी


0
Shares

NCP prachanda kp oli primeminister

चितवन, असार २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएकामा गम्भीर आपत्ति जनाउनुभएको छ ।

चितवनमा आयोजित पार्टी कार्यक्रममा दाहालले पार्टीमा कसैलाई दलाल र कसैलाई महान् राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई चेतावनी दिनुभयो ।

पार्टीलाई एकतावद्ध राख्नु नै सबैको कर्तव्य हो भन्दै उहाँले भन्नुभयो, ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान् राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्शा बनाएको हो । के को राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा कसरी ?’

पार्टीलाई कुनै हालतमा फुट्न नदिने प्रतीज्ञा गर्दै दाहालले सरकारले लिएका राम्रा अडान, निर्णय र काममा पार्टीको सिंगो पंक्तिको साथ रहेको र पार्टी बैठकबाटै धन्यवाद दिइएको प्रष्ट पार्नुभयो ।

नक्शा जारी गर्न ओलीलाई मैले निर्देशन दिएको हुँ

नेपालको नयाँ नक्शा जारी गरेपछि आफूलाई भारतले हटाउन खोजेको र त्यसमा पार्टीकै नेताहरुको मिलिभगत रहेको आरोप प्रधानमन्त्री ओलीले लगाइरहेका सन्दर्भमा दाहालले नक्शा जारी गर्न आफूले नै प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको दाबी गर्नुभयो ।

भारतले नक्शा प्रकाशित गरेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा तत्काल नेपालले प्रकाशित गर्नुपर्छ भनेर पार्टी स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको दलील पेश गर्दै उहाँले के त्यो पनि लम्पसारवाद हो ? भन्दै ओलीलाई प्रश्न गर्नुभयो ।

माधव नेपालसमूहसँग मिलेर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन कस्सिनुभएका उहाँ पछिल्ला दिनमा प्रधानमन्त्रीसँग संवादमा रहेपनि कुनै समाधान निस्केको छैन ।

लम्पसारवादीको आरोपप्रति आक्रोश, दिए प्रष्टीकरण

यस्तोमा चितवन ओर्लनु भएका दाहालले आइतबार कार्यकर्ता माझमा भँडास पोख्दै भन्नुभयो, ‘केन्द्रीय समितिले अविलम्ब नक्शा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ?’

आफूलाई लम्पसारवादीको आरोप लगाएकामा निकै चित्त दुखाउनु भएका दाहालले केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता गरेको र आफू प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरलाई) सम्झौता गरिएको प्रष्टीकरण दिँदै भन्नुभयो के यो लम्पसारवाद थियो ?

दाहालले काठमाडौं निजगढ द्रूत मार्ग बनाउन नेपाली सेनालाई जिम्मा दिने निर्णय, मधेशी दललाई समेटेर निर्वाचन सफल पार्ने कार्य, लोडसेडिङको अन्त्य गर्ने जस्ता निर्णय पनि लम्पसारवाद नै थियो त ? भन्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नुभयो ।