Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, राजदूतको सक्रियता ‘अर्थपूर्ण’


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुभएको छ ।

यान्छीले नेताहरुसँगको भेटलाई तिब्रता दिनुभएको छ । आइतबार साँझ उहाँले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो ।

पहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसपछि नेपाललाई भेट्न जानुभएको बुझिएको छ ।

वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरेका छन्।

प्रधानमन्त्री फेरबदलका बारेमा निर्णायक हुनसक्ने अनुमान गरिएको नेकपा स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा यान्छीको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यी कमिटी बैठक सोमबारलाई तय भएको छ ।

करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत यान्छीको समेत सक्रियतापछि साम्य भएको चर्चा गरिएको थियो ।