Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


शेयर बजार सुधारका लागि बोर्डले गर्‍यो पूर्वअध्यक्षहरुसंग छलफल


0
Shares

काठमाडौं, असार १६ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा पूर्व अध्यक्ष लगायत विज्ञहरुसंग छलफल गरेको छ ।

बोर्डका पूर्व अध्यक्ष प्रा. डा. शुरविर पौड्यालले नीति तथा कार्यक्रमहरू दोहोरिने गरेको बताउँदै बजारमा संस्थागत सुशासन अभिवृद्धि, बोर्डको संरचना परिवर्तन लगायतमा जोड दिनुभएको छ ।

बोर्डका अर्का पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले अर्थतन्त्रको ऐनाको रूपमा रहेको बजारलाई जुनसुकै विषय परिस्थितिमा बन्द गर्न नहुने विचार व्यक्त गर्नु भयो ।

उहाँले बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै स्वायतत्ता हासिल गर्नुपर्ने, बोर्डलाई आयकर लाग्न नहुने, बोर्डको संरचना परिवर्तन हुनुपर्ने, प्रतिष्पर्धाका लागि अर्को स्टक एक्सचेञ्ज ल्याउनुपर्ने तथा बाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने धारणा राख्नुभयो ।

नेप्सेका पूर्व अध्यक्ष डा. नारायण प्रसाद पौडेलले बोर्ड तथा धितोपत्र बजारलाई प्रार्देशिक रूपमा विस्तार गर्नुपर्ने, संस्थागत सुशासन तथा नेप्सेको प्रतिष्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी रणनीतिक साझेदार ल्याउने गरी नेप्सेको पूर्नसंरचना गर्नुपर्ने, ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनिसकेको यस बजारको विकासका लागि बोर्डले नेतृत्व गर्नुपर्ने लगायतका विषयमा जोड दिनुभएको थियो ।

बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले लकडाउन अवधिमा बजार व्यवस्थापन तथा सञ्चालनका लागि सम्बन्धित सबै निकाय र सरोकारवाला, लगानीकर्तासँग पर्याप्त छलफल पश्चात बजार सञ्चालनको लागि उपयुक्त वातावरण तयार गरेको बताउनुभएको थियो ।