३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


धान दिवसमा प्रधानमन्त्रीको सन्देशः उत्पादकत्व बढाउन केन्द्रित होऔं


0
Shares

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी ओलीले उत्पादकत्व बढाउनेतर्फ केन्द्रित हुन सबैमा अपील गर्नुभएको छ ।

उहाँले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीलाई आह्वान गर्दै कृषि क्षेत्रको विकास र बृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधार कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सकिने बताउनुभयो ।

कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेशिनीकरण आवश्यक रहेको भन्दै यस कार्यक्रमलाई सफल पार्न उहाँको अपील छ ।

राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेकैले सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको भन्दै प्रधानमन्त्री ओलीले सिँचाइ सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, न्यूनतम समर्थन मूल्यको घोषणा जस्ता विषयलाई वर्तमान सरकारले जोड दिएको बताउनुभयो ।

२०६२ सालदेखि असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएकामा यस वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ को सन्देशसहित मनाइदैछ ।