काठमाडौं, जेठ ११ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नम्बर–३ लाई ४१ रनले पराजित गर्दै विजयी भएको हो ।
जितका लागि एपीएफले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश नम्बर–३ निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटियो ।
प्रदेश नम्बर–३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । त्यस्तै, कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अंक जोड्न सकेनन् ।
एपीएफका कमलसिंह ऐरीले ३ तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बाँस्कोटा र भुवन कार्कीले समान एक/एक विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो ।
उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै, प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।
प्रदेश नम्बर–३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले ३/३ विकेट लिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् । रासस








प्रतिक्रिया दिनुहोस्