२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मोदीले दिए जनतालाई धन्यवादः ‘शीर झुकाएर नमन गर्छु’


0
Shares

काठमाडौं । भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी र गठबन्धनलाई ऐतिहासिक जनादेश दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन् ।

नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशभरका करोडौं नागरिकले भाजपालाई मत दिएकोप्रति खुसी व्यक्त गर्दै उनीहरुप्रति शीर झुकाएर नमन गर्ने बताए ।

उनले सबै भारतीयले नयाँ भारत चाहेको भन्दै आगामी दिनमा कुनै पनि खराव मनसायका साथ काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

काम गर्दा कुनै गल्ती पनि हुनसक्ने तर खराव नियतले केही नगर्ने उनको भनाइ थियो ।

आफूलाई जनताले दिएको विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री मोदीले लोकतन्त्रका लागि ज–जसले बलिदान दिए उनीहरुका परिवारजनप्रति समवेदनासमेत प्रकट गरे ।

उनले चुनावी प्रक्रिया राम्रोसँग सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई समेत बधाई दिए ।

प्रधानमन्त्री मोदीले १ अर्ब ३० करोड भारतीयले श्रीकृष्णका रुपमा जवाफ दिएको टिप्पणी गर्दै यो चुनाव कुनै उम्मेदवार वा पार्टी नभएका जनताले लडेको बताए ।

भारतमा भएको निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टी भाजपाले कूल ५ सय ४३ सिट संख्यामध्ये ३ सय सिटभन्दा बढीमा जित हात पारेको छ । उसको गठबन्धन एनडीए ३४९ सिटमा विजयी भएको छ ।

भाजपा र उसको गठबन्धनले सन् २०१४ मा भएको निर्वाचनको भन्दा बढी मत प्राप्त गरेको छ ।

प्रमुख विपक्षी दल कंग्रेसले ५३ सिट मात्र जितेको छ । कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीले बेहोरेको हार स्वीकारे गरिसकेका छन् ।

भारतमा कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तिमा २७२ सीट आवश्यक पर्छ ।

सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो ।

उक्त चुनावमा भाजपाको गठबन्धनले संसद्मा कुल ३३६ सिट ओगट्न सफल भएको थियो ।

सन् २०१४ को चुनावमा कंग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धनसहित जम्मा ६० सीट पुगेको थियो ।(एजेन्सी)