२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मोदीमय मतपरिणाम


0
Shares

किशोरजंग थापा (इमेज)

काठमाडौं, जेठ ९ । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतको १७औं लोकसभा निर्वाचन परिणाम मोदीमय बनेको छ ।

मत सर्वेक्षणहरुले देखाएजस्तै सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले अभूतपूर्व जित निकालेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ।

निर्वाचन परिणामले विपक्षी भारतीय राष्ट्रिय कांग्रेस गठबन्धन भने फेरि पनि नराम्ररीले खुम्चिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसंग्रहकारुपमा हेरिएको निर्वाचनमा उनको सफलता आश्चर्यचकित पार्नेखालको आएको छ ।

चुनावी नतिजाले सत्ताको बागडोर अर्को पाँच वर्षका लागि हिन्दुराष्ट्रवादी भाजपाको हातमा आएको छ, अभूतपूर्व बहुमतका साथ ।

भाजपाले सन् २०१४ को चुनावको नतिजाभन्दा पनि ठूलो सफलता हासिल गरेको छ ।

सन् १९७१ मा इन्दिरा गान्धी नेतृत्वमा कांग्रेस आइले ल्याएको बहुमतपछि यो नै कुनै दलले प्राप्त गरेको ठूलो बहुमत हो । र, भाजपाका लागि यो उत्साहजनक नतिजाको दरिलो सारथि भने प्रधानमन्त्री मोदी बने ।

चुनावी अभियानदेखि नै विपक्षी प्रहारको सशक्त प्रतिकार गरेका मोदीकासामु उनीहरुका हर हथकन्डा फिक्का सावित भए ।

भाजपाले मोदीलाई बलियो र राष्ट्रिय मुद्दामा निर्णायक नेताकारुपमा प्रस्तुत् गरेको थियो । जितसँगै दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री उनी बन्नेछन् ।

जितलाई लिएर सुरुदेखि नै आत्मविश्वासी देखिएका मोदीले ‘भारतले फेरि एकपटक जित्यो’ भन्दै बिहीबार ट्वीट गरेका छन् । 

चार महिनाअघि विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनमा कांग्रेसले पाएको जितलाई भाजपाले लोकसभा चुनावमा उल्ट्याउँदै आफ्नो पक्षमा पारेको छ । 

यस चुनावमा सबैभन्दा ठूलो झड्का भारतका कम्युनिस्टहरुलाई लागेको छ । 

पश्चिम बंगाल र केरला राज्यजस्ता कम्युनिस्ट गढमा उनीहरुको नाम–निसान रहेन भने क्षेत्रीयतावादी र जातिवादी दलहरुलाई पनि नराम्रो धक्का लागेको छ । 

‘नोटबन्दी’, पाकिस्तानविरुद्धको ‘सर्जिकल स्ट्राइक’, गरिब र किसानलक्षित विभिन्न कार्यक्रमविरुद्ध विपक्षीले निर्मम प्रहार गरेपनि भारतीय जनता वाकपटुताका धनी मोदीको योजनामा छाप लगाउन उत्साही देखिए, एकमहिने लामो चुनावमा । 

पहिलो कार्यकालमा पूरा हुन नसेकेका वाचा पूरा गर्नुपर्ने दायित्व त मोदीमा छँदैछ, घरेलु राजनीतिदेखि विश्व राजनीतिक रंगमञ्चमा बढ्दै गएको आफ्नो उचाइलाई हेक्का राख्नु पनि अर्को चुनौती छ । 

गुजरातको आर्थिक प्रगतिका कारण राष्ट्रिय राजनीतिमा उदाएका मोदी दोस्रोपटक भारतीय राजनीतिको सर्वोच्च पदमा पुग्न सफल भएका छन् । 

भारतको चुनावी नतिजालाई नेपालमा पनि चासोका साथ हेरिएको छ । मोदीको पहिलोपटक सत्तामा आउँदाको व्यवहार र नीति यसपटक फरक हुन्छ कि हुँदैन यो भने समयसँगै प्रस्ट हुँदै जानेछ । –एजेन्सीको सहयोगमा ।