
काठमाडौं, असार ९ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. खतिवडाले शुरुमा राष्ट्रसेवक कर्मचारीको बचतलाई प्रोत्साहित गर्न र अवकासपछिको आर्थिक जीवनलाई सहज तुल्याउन कोषको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले कोषको दायरालाई क्रमशः बढाउँदै लैजानुपर्ने अवस्था रहेको तथा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषसँग नबाझिनेगरी विधेयक संशोधन गरिएको जानकारी दिनुभयो ।
त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद दिब्यमणिराज भण्डारी, प्रदीप गिरी, प्रेम सुवाललगायतले सरकार र नागरिकले विश्वास गरेर जम्मा हुने कोषको रकमलाई शिक्षा, स्वास्थ्य, जलविद्युत् र कृषिलाई प्राथमिकता दिएर उपयोग गर्नुपर्ने बताउनुभयो ।
नागरिकको सरोकार र सम्मानको अवसरलाई ध्यान दिएर कोषको रकम सदुपयोग गरिनुपर्नेमा पनि उहाँहरुले जोड दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्