Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


लद्दाख भिडन्तमा चीनका ४० सैनिक मारिएः भारतीय मन्त्री एवं पूर्वसेनाध्यक्ष सिंह


0
Shares

काठमाडौं, असार ७ । लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको भिडन्तमा ४० चिनियाँ सैनिक मारिएको दाबी भारतले गरेको छ ।

चीनतर्फ भएको क्षतिबारे पहिलो पटक औपचारिक प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री एवं पूर्व सेनाध्यक्ष जनरल भिके सिंहले ४० जना चिनियाँ सैनिक मारिएको दाबी गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम दि हिन्दूलाई दिएको प्रतिक्रियामा सिंहले भने, ‘हामीले २० जना सैनिक गुमायौं भने उनीहरू (चीन) तर्फ दुई गुणाभन्दा बढी मारिए । चीनले नम्बर लुकाउँछ, सन् १९६२ को युद्धमा पनि हताहतीको संख्या स्वीकार गरेको थिएन ।’

भारतीय सञ्चारमाध्यममा अनेक खाले विषय आइरहेपनि केन्द्र सरकारको तर्फबाट चिनियाँ क्षतिबारे पहिलो पटक यो प्रतिक्रिया आएको दि हिन्दूले जनाएको छ ।

यद्यपि, भारततर्फ २० सैनिक मारिए पनि चीनले अफूतर्फको क्षतिबारे अझै केही बताएको छैन । चिनियाँ सञ्चारमाध्यमले चीनतर्फ पनि क्षति भएको बताए पनि संख्या उल्लेख गरेका छैनन् ।

भिडन्तको क्रममा दश सैनिकलाई नियन्त्रणमा लिएर पछि छोडेको भन्ने भारतीय सञ्चार माध्यमको खबरलाई भने बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले खण्डन गरेका थिए ।

चीनले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भारतीय सेना घुसेपछि भिडन्त भएको भन्दै आफ्ना सैनिकलाई संयमित राख्न भारतलाई भन्दै आएको छ । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘चिनियाँ सेना भारतीय भूभागमा नघुसेको’ बताएपछि उनको भनाइप्रति दिल्लीमा विवाद निम्तिएको छ ।