२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


तीन निरीक्षक कारबाहीमा, एक नक्कली परीक्षार्थी र चार नक्कली गार्ड पक्राउ


0
Shares

इमेज जिल्ला ब्यूरो

काठमाडौं, चैत १९ । एसएलसी परीक्षाअन्तर्गत् शुक्रबार दोस्रो दिन सप्तरीमा परीक्षा मार्यादाविपरीत कार्य गरेको आरोपमा तीन निरीक्षक कारबाहीमा परेका छन् ।

जिल्लाको कल्याणपुरस्थित भसराज उच्च मावि परीक्षा केन्द्रबाट निरीक्षक शिवकुमारी चौधरी र श्यामप्रकाश चौधरी तथा टिकुलियास्थित केशव स्मारक उच्च मावि परीक्षा केन्द्रबाट शिवदर्शन पासवान गरी तीनजना कारबाहीमा परेको जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

केही छिटफुट घटनाबाहेक जिल्लाका ४१ ओटै परीक्षा केन्द्रमा दोस्रो दिन पनि शान्तिपूर्ण र मर्यादित ढंगले परीक्षा सम्पन्न भएको भट्टराईले बताए ।

नक्कली परीक्षार्थी पक्राउ
रौतहटको लौकाहा गाउं विकास समितिस्थित ब्रम्हज्योति उच्च मावि विद्यालयको परीक्षा केन्द्रबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नेपाली विषयको जाँच दिइरहेका नक्कली परिक्षार्थी मनेजरराय यादवलाई अनुगमनमा खटिएका टोलीले पक्राउ गरेको हो ।

उनले कोपवा पिपरिया वडा नम्बर–७ का सरोजकुमार यादवको सट्टामा परीक्षा दिइरहेका थिए ।

चार नक्कली गार्ड पक्राउ
सिरहाको चोहर्वास्थित जनता उच्च माध्यामिक विद्यालयको परीक्षा केन्द्रबाट शुक्रबार चारजना नक्कली गार्ड पक्राउ परेका छन् ।

नक्कली परिचयपत्र बनाइ गार्ड बसेका इरसाद खान, कविन्द्र सिंह, सन्जीब यादव र देवेन्द्रकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।