
कञ्चनपुर, जेठ ५ । बाहिरी जिल्लाबाट सस्तोमा अण्डा भित्रिएपछि कञ्चनपुरका कुखुरा व्यवसायी समस्यामा परेका छन् ।
कुखुराका लागि चाहिने दाना तथा कच्चा पदार्थ स्थानीयस्तरमा नपाइएपछि यहाँका व्यवसायीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गदर्छन् । जसले गर्दा प्रति पेटी अन्डाको मूल्य १८ सय ५० रुपैयाँ पर्न जान्छ ।
तर, चितवन तथा दाङबाट १४ सय ५० रुपैयाँमा अण्डा भित्रिने गरेकाले आफूहरु मारमा परेको कृष्णपुर–८ रैकवारस्थित आरबी एग्रो फार्मका सञ्चालक शंकर साउदले बताए ।
दैनिक साढे १० हजार अण्डा उत्पादन हुने गरेकोमा आफूहरुले दैनिक २० देखि २२ हजार रुपैयाँसम्म घाटा खाएर बेच्नुपरेको उनको गुनासो छ । भारतबाट आउने कच्चा पदार्थमा समेत प्लान्ट क्वारेन्टाइन कार्यालयले कडाई गरेकाले व्यवसाय नै धरापमा परेको फार्म सञ्चालकको भनाइ छ ।
खुला सीमानाका कारण भारतबाट अवैध रूपमा कुखुरा भित्रिएर हैरान भएका व्यवसायी पछिल्लो समय अण्डाकोसमेत उचित मूल्य नपाएपछि निराश बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्