३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘पूँजीगत खर्च बढ्छ’


0
Shares

काठमाडौं, वैशाख ६ । चालु आर्थिक वर्ष सकिन तीन महिना पनि बाँकी छैन । तर, पूँजीगत खर्च न्यून रहको छ ।

अहिलेसम्म विनियोजित विकास खर्चमध्ये करिब १५ प्रतिशत मात्र खर्च भएको तथ्यांक छ । चालु आर्थिक वर्षका लागि ल्याइएको ८ खर्ब १९ अर्बको बजेटमा २ खर्ब ८ अर्ब पूँजीगत खर्च विनियोजन गरिएको थियो ।

भूकम्प र नाकाबन्दीले विकास आयोजनाहरु प्रभावित हुँदा यो वर्ष पूँजीगत खर्च न्यून हुने भएको हो ।

तर, अहिले अवस्थामा सुधार आएको र यो वर्ष महत्वपूर्ण केही समय बाँकी रहेकाले विकास खर्च ६० देखि ७० प्रतिशत भने पुग्ने अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहका प्रा.डा.गोविन्द नेपालको विश्वास छ ।

भूकम्प, नाकाबन्दी, नदीजन्य पदार्थको आपूर्तिमा समस्याले आयोजनाहरु प्रभावित भएका हुन् । तर, अहिले वातावरण अनूकूल बन्दै गएको र पूँजीगत खर्च वर्षको अन्त्यतिर धेरै भुक्तानी हुने हुनाले विकास खर्च ७० प्रतिशतसम्म पुग्ने उनको दाबी छ ।

मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा पनि जुटिसकेको छ ।

आगामी आर्थिक वर्ष संविधान कार्यान्वयन, कृषि विकास रणनीति कार्यान्वयन, दिगो विकास लक्ष्य कार्यान्वयन वर्ष पनि भएकाले आगामी वर्षको बजेट विगतको निरन्तरतामात्र नहुने उनको भनाइ छ ।

यसका लागि सबै वर्ग र क्षेत्रसँग व्यापक छलफल र गृहकार्य भैरहेको सोमबार उनले हामीसँग बताए ।

बजेट कार्यान्वयनका लागि नीतिगत र व्यवस्थापकीय सुधार पनि गरिने भएकाले आगामी वर्षदेखि विकास आयोजनाहरुको कार्यान्वयन प्रभावकारिता बृद्धि हुने डा. नेपालको दाबी छ ।