Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कान्तिपुर हाफ म्याराथन जेठ ११ गते


0
Shares

काठमाडौं, जेठ ३ । ‘कान्तिपुर हाफ म्याराथन’ प्रतियोगिता यही जेठ ११ गते हुने भएको छ ।

२०६७ सालदेखि कान्तिपुर पब्लिकेसन्सले आयोजना गर्दै आइरहेको प्रतियोगिताको नवौं संस्करण ११ गते हुने भएको हो ।

म्याराथनको मुख्य उद्देश्य प्रदूषणविरुद्ध चेतना फैलाउनु रहेको छ ।

हाफ म्याराथनमा १८ वर्ष पुगेकाले सहभागिता जनाउन पाउनेछन् ।

२१.१ किलोमिटर हाफ म्याराथन, ५ किलोमिटर कर्पोरेट र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्ष तीन हजार धावक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

हाफ म्याराथनको पहिलो ६ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर प्रदान गरिने भएको छ ।

त्यस्तै, कर्पोरेटतर्फका विजेतालाई बैंककमा तीन रात र चार दिनको घुम्ने प्याकेज उपलब्ध गराइने भएको छ । त्यस्तै, दोस्रो हुनेलाई पोखरामा दुई रात र तीन दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिने भएको छ ।

ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन् ।

कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गरी थापाथलीस्थित कार्यालयमा जेठ ७ गतेसम्म सहभागिताका लागि नाम दर्ता खुला गरेको जनाएको छ ।