
काठमाडौं, वैशाख ८ । विभागीय टोलीहरु सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी लिगको समूहमा लगातार दुई जित हासिल गर्दै सशस्त्र र आर्मीले अन्तिम चारमा ठाउँ बनाएका हुन् ।
बुधबार भएको समूह ‘बी’को खेलमा सशस्त्रले सुदूरपश्चिमाञ्चललाई १४–० ले हरायो ।
सशस्त्रको जितमा सावित्रा भण्डारी र सजना रानाले समान ४ तथा अनिता बस्नेतले ह्याट्रिक गरिन् । अनु लामाले २ गोल जोडिन् ।
त्यस्तै, बुधबारै भएको अर्को खेलमा आर्मीले पश्चिमाञ्चललाई ९–० ले हरायो । आर्मीलाई जिताउनेक्रममा शर्मिला थापाले ५ तथा दीपा अधिकारीले ह्याट्रिक गरिन् ।
आपसमा भिड्नुअघि नै सुपर लिगमा प्रवेश गरेका सशस्त्र र आर्मीले गोलको वर्षा नै गरेका छन् । सशस्त्रले ३० गोल गर्दा आर्मीले गोल संख्यालाई २९ पुर्याएको छ ।
एक खेल खेल्नुअघि बाहिरिएका पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले भने एक गोलसमेत गर्न सकेका छैनन् ।
आठ टिम सहभागी राष्ट्रिय लिगको समूह ‘ए’बाट नेपाल पुलिस क्लब सुपर लिगमा प्रवेश गर्दा मध्माञ्चल र पूर्वाञ्चलमध्ये एक टिमले सो अवसर पाउने छ ।
मध्यपश्चिमाञ्चल भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्