
काठमाडौं, बैशाख १५ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको राइजिङ पुणे सुपरजाइन्ट्स विजयी भएको छ ।
पुणेले सनराइजर्स हैदरावादलाई डकवर्थ लुइस नियमका आधारमा ३४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनायो ।
हैदरावादका लागि शिखर धवनले ५६ रन तथा भुवनेश्वर कुमारले २१ रन जोडे । बलिङतर्फ पुणेका अशोक डिन्डाले ३ तथा मिचेल मार्सले २ विकेट लिए ।
जवाफमा १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको पुणेले ११ ओभरमा तीन विकेट गुमाएर ९४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकियो । त्यसपछि डकवर्थ लुइस नियमका आधारमा खेलको निर्णय लिइएको हो ।
यो नियमका आधारमा पुणेले जितका लागि ११ ओभरमा ६० रन मात्रै बनाए पुग्ने थियो ।
पुणेको जितमा अष्ट्रेलियन खेलाडी स्टेभन स्मिथले अविजित ४६ रन तथा फाफ डु प्लेसिसले ३० रनको योगदान दिए ।
मंगलबार रातिको खेलपछि हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान ६ खेल खेलेको पुणे ४ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्