काठमाडौं, वैशाख २७ । सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन संसदमा प्रयोग भएका गैरसंसदीय शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख महराले नीति तथा कार्यक्रममा पारित गर्ने क्रममा भएका सबै शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गैरसंसदीय शब्द हटाउन रुलिङ नगरे संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुख महराले यस्तो आदेश दिएका हुन् ।
यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै संसदमा विरोध गरेको थियो ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
कर बाहेकका विषयमा प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सन् २०३० सम्म नेपाललाई मध्यमस्तरको मुलुक बनाउने गरी आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट तयार पार्ने क्रममा रहेको बताए । उनले आगामी वर्षको बजेट निर्माण बाम गठबन्धनले बनाएको घोषणापत्रका आधारमा निर्माण गर्ने जानकारीसमेत दिए ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि संसदमा वैशाख २९ र ३० गते छलफल हुनेछ ।









प्रतिक्रिया दिनुहोस्